पाकिस्तान विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, १५० जना घाइते

न्युजलय १६ माघ २०७९, सोमबार ०७:०७ मा प्रकाशित

काठमाडौं । पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा बम विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ । विस्फोटमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

स्थानीय समयअनुसार सोमवार दिउँसो साढे १ बजेतिर मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको विस्फोट भएको हो । ज्यान गुमाउनेमा केही प्रहरीसमेत रहेका छन् ।

विस्फोटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको छ । 

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताएका छन् । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।