काठमाडौं । भारतमा सशस्त्र संघर्ष गरिरहेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का पोलिटब्युरो सदस्य एवं पार्टीका दोस्रो प्रभावशाली कमान्डर कट्टम सुदर्शनको मृत्यु भएको छ ।
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले सुदर्शनको टाउकाको मूल्य डेढ करोड तोकेको थियो। उनलाई भारतीय प्रहरीले ‘मोस्टवान्टेड’ सूचीमा राखेर सर्वाधिक खोजी गरिरहेको थियो।
भारतीय प्रहरीका अनुसार सन् १९७४ देखि माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शन छत्तिसगढका भाजपा विधायक भीमा मांडवीको हत्यामा पनि संलग्नता रहेको आरोप छ। तेलंगानाको आदिलाबाद निवासी ६५ वर्षीय कट्टम सुदर्शनलाई भारतका धेरै भागमा भएका माओवादी आक्रमणमा संलग्न भएको आरोपमा विभिन्न प्रहरी चौकी र अदालतमा समेत मुद्दा लगाइएको छ।
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) भूमिगत नक्सली संगठन हो। भारत सरकारले २२ जुन २००९ मा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) लाई आतंककारी संगठन घोषणा गरेसँगै पार्टी प्रतिबन्ध र यसका नेताको टाउकाको मूल्य तोकिएको थियो।