भगवान् भेट्न भोकभोकै बसेर ज्यान गुमाउनेको संख्या ८३ पुग्यो

न्युजलय १४ बैशाख २०८०, बिहिबार ०७:३२ मा प्रकाशित

एजेन्सी । केन्याका अधिकारीहरूले भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको बताएका छन्। यो सँगै यसरी भगवान भेट्ने भन्दै ज्यान गुमाएको संख्या ८३ पुगेको छ।

चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको संख्या बढ्नसक्ने बताएका छन्। निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जंगलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए। उनीहरूले आरोपीको खोजीमा दिनभर जंगलमा बिताएका थिए।

गुडन्युज चर्चका केही अनुयायीले शाकोला जंगलमा अझै पनि भगवानसँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन्। प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ।