रुसको पेट्रोल पम्पमा आगलागी, २७ जनाको मृत्यु

न्युजलय ३० साउन २०८०, मङ्गलबार १२:०४ मा प्रकाशित

काठमाडौँ । रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा पेट्रोल पम्पमा भएको आगलागीमा तीन बालबालिकासहित २७ जनाको मृत्यु भएको हो । 

सोमबार राति मखचकलाको राजमार्गमा रहेको सवारीसाधन मर्मत पसलमा सुरु भएको आगलागी नजिकैको पेट्रोल पम्पमा फैलिएर  विस्फोट भएको उद्धारकर्मीहरुले बताएका छन् । 

रुसको आपतकालीन मन्त्रालयले मंगलबार बिहान आगो निभाइएको जनाएको छ ।  घाइतेसमध्ये १० जनाको अवस्था गम्भीर रहेको रुसी उपस्वास्थ्यमन्त्री भ्लादिमिर फिसेन्कोले बताएका छन् । गम्भीर घाइतेहरुलाई उद्धार गर्न मखचकलामा विमान पठाइएको थियो ।

घाइते मध्ये १३ जना बालबालिका रहेका छन् । रुसी आपतकालीन सेवाले जारी गरेको विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।