टर्कीमा भूकम्पले भत्किएका भवन बनाउने ठेकेदारलाई धमाधम पक्राउ

न्युजलय २९ माघ २०७९, आइतबार ०२:५१ मा प्रकाशित

काठमाण्डौ । टर्कीमा गत सोमबार गएको भूकम्पमा परी २४ हजार बढी मानिसको मृत्यु भएको छ भने सिरियामा ४ हजार बढी मानिसले ज्यान गुमाएमा छन्।

७.८ म्याग्नेच्युडको उक्त भूकम्पले टर्कीका १० सहरमा प्रभावित भएका थिए। ती सहरमा एक–दुई तले निजी घर मात्र होइनन्, गगनचुम्बी महल पनि भत्किएका थिए।

ती अग्ला भवन बनाउँदा भवन संहिताको पूर्ण पालना नगरेको भन्दै सरकारले अहिले धमाधक ठेकेदारहरूलाई पक्राउ गरिरहेको छ।

द न्युयोर्क टाइम्सका अनुसार १० सहरका १०० जना बढी ठेकेदार पक्राउ परिसकेका छन्। टर्कीको न्याय मन्त्रालयले प्रान्तीय अधिकारीहरूलाई भूकम्प अपराध अनुसन्धान युनिट बनाउन निर्देशन दिएको छ।

मापदण्ड पूरा नगरी भवन बनाउनेविरूद्ध फौजदारी अभियोगमा मुद्दा चलाउन अभियोजनकर्ता नियुक्त गर्न पनि मन्त्रालयले भनेको छ।

भूकम्पमा यति धेरै मानिसहरू मर्नुको प्रमुख कारण भवनहरू मापदण्ड पूरा नगरी बनाइनु भएको भन्दै टर्कीमा व्यापक जनआक्रोश छ।