किसानले बेच्ने दूधको मूल्य बढ्यो

न्युजलय १८ माघ २०७८, मङ्गलबार १२:५० मा प्रकाशित

काठमाण्डौ । सरकारले किसानको लागि दूधको मूल्य बढाएको छ । उपभोक्ताको मूल्य भने तय हुन बाँकी छ ।

मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसा बढाउँदै प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम गरेको छ । लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात ६ रुपैयाँ ५२ पैसाले वृद्धि भएको एक मन्त्रीले जानकारी दिएका छन् । सरकारले तोकेको मूल्य किसानको लागि हो, उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य भने दूग्ध विकास संस्थानले तय गर्नेछ ।

किसानले दूध उत्पादनमा लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आए पनि सरकारले साढे २ वर्षपछि हिजो मूल्य बढाएको हो । समितिले दिएको प्रतिवेदनका आधारमा मूल्य बढाउने प्रस्ताव कृषि मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो ।