इटहरीमा भजन कीर्तन महोत्सव आयोजना हुँदै, लोगो अनावरण कार्यक्रम सम्पन्न

न्युजलय २२ कार्तिक २०८३, शनिवार ०७:५६ मा प्रकाशित

इटहरी । धार्मिक तथा सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्दै इटहरीलाई भजन कीर्तनको सहरका रूपमा चिनाउने उद्देश्यले एरिना टेलिभिजनले इटहरीमा बृहत् भजन कीर्तन महोत्सव आयोजना गर्ने भएको छ।


महोत्सवको तयारीस्वरूप आज आयोजित एक विशेष कार्यक्रममा भजन कीर्तन महोत्सवको आधिकारिक लोगो अनावरण गरिएको छ। एरिना टेलिभिजनका अध्यक्ष समिर कार्की, कार्यक्रमका प्रमुख अतिथि मण्डलेश्वर दिनबन्धु शास्त्री तथा इटहरीका भजनप्रेमी व्यक्तित्वहरूको उपस्थितिमा लोगो अनावरण कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा भजन कीर्तनको महत्त्वबारे चर्चा गर्दै यस अभियानलाई सफल बनाउन सबै भजन कीर्तन समूह, धार्मिक संघसंस्था तथा भजनप्रेमीहरू एकजुट हुनुपर्नेमा जोड दिइएको थियो।


एरिना टेलिभिजनका अध्यक्ष समिर कार्कीले भजन, गीत तथा कीर्तनमार्फत इटहरीको धार्मिक र सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए। उनले इटहरी तथा आसपासका क्षेत्रका सम्पूर्ण भजन कीर्तन समूहलाई अभियानमा जोडिन आह्वानसमेत गरे।


कार्यक्रमका संयोजक तथा पूर्व डीएसपी चिरञ्जीवी कोइरालाले महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए।


महोत्सवले विभिन्न भजन कीर्तन समूहलाई एउटै मञ्चमा जोड्नुका साथै नयाँ पुस्तामा धार्मिक, सांस्कृतिक तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।