भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी, ९ जनाको मृत्यु

न्युजलय ९ भदौ २०८०, शनिवार १०:५५ मा प्रकाशित

काठमाडौँ । भारतको तमिलनाडु राज्यको मदुरै स्टेसननजिकै एउटा रेलमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार लखनऊबाट तीर्थयात्री लिएर आएको रेलमा आगलागी भएको हो । ५५ जनालाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् । 

अगस्ट १७ मा लखनऊबाट उक्त रेल रामेश्वरको तीर्थयात्रामा निस्किएको थियो । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीले शुक्रबार नागरकोइलमा रहेको पद्मानभा स्वामि मन्दिरको दर्शन गरेका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार केही यात्रीले रेलभित्रै सिलिन्डर ग्यासँ प्रयोग गरेर चिया पकाइरहेका थिए । त्यहीँबाट आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि घटनाको जाँच भइरहेको अधिकारीहरूले बताएका छन् ।