काठमाडौं । अफगानिस्तानमा महिलाहरूका लागि शिक्षाको ढोका बन्द गरेपछि तालिवानले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न पनि प्रतिबन्ध लगाएको छ।
संयुक्त राष्ट्र संघले तालिवान सरकारको यो निर्णयलाई आधारभूत अधिकारको उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ।
यद्यपि, तालिवानले यो निर्णयलाई उचित ठहर गर्दै गैरसरकारी संस्थाका महिला कर्मचारीले हिजाब नलगाएर शरिया कानुनको उल्लंघन गरेको बताएको छ।
केही दिनअघि अफगानिस्तानमा युनिभर्सिटीमा महिला जान प्रतिबन्ध लगाइएको थियो।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि यो निर्णयको आलोचना गरेका छन्। उनले यो निर्णय अफगानिस्तानका जनताका लागि विनाशकारी हुने बताए।
गैरसरकारी संस्थाहरूमा काम गर्ने धेरै महिलाहरू घरको एक मात्र कमाउने सदस्य हुन्। उनीहरूमध्ये केहीले आफ्नो डरबारे बीबीसीलाई बताए।