काठमाडौं । म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।
म्यानमारमा सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको नागरिक सरकार अपदस्थ भएपछि म्यानमारमा अराजकता छाएको छ । पाथेइनस्थित कारागारमा बिहीबार राति सुरक्षाकर्मीले एक कैदीको मोबाइल फोन जफत गरी अनुशासनको कारबाही गरेपछि दङ्गा सुरु भएको सैनिक सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
करिब ७० जना कैदीहरू शुक्रबार बिहान आफ्नो कोठाबाट निस्केर जेलको सम्पत्तिमा क्षति पुर्याएका थिए । कैदीहरूले लाठी, इँटा र सिमेन्टका टुक्राहरू प्रयोग गरेर सुरक्षा बलहरूमाथि आक्रमण गरेको सैनिक सरकार (जुन्ता) ले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिने प्रयास भए पनि वार्ता असफल भयो र सुरूक्षाकर्मीले बल प्रयोग गरेको अधिकारीहरूले जनाएका छन् । युद्धका क्रममा एक कैदीको मृत्यु भएको र दुई प्रहरी र नौ सुरक्षाकर्मीसहित ६३ जना घाइते भएको जुन्ता प्रशासनले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले मृतक कैदीलाई राजनीतिक बन्दीको संज्ञा दिएका छन् भने बीबीसी बर्मेली सेवाले उनलाई आतङ्क फैलाएको आरोपमा पक्राउ गरिएको जनाएको छ । जुन्ताले घटनाको अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ ।