पेरुको सुन खानीमा आगलागी हुँदा २७ जनाको मृत्यु

न्युजलय २५ बैशाख २०८०, सोमबार १२:१३ मा प्रकाशित

काठमाण्डौ । पेरुमा जमिनभन्दा १ सय मिटर तल रहेको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । 

समाचार एजेन्सी एपीका अनुसार उत्खनन गर्ने कम्पनी यानाक्विहुआले एक वक्तव्य जारी गर्दै शुक्रबार राति र शनिबार बिहानको बीचमा भएको यो दुर्घटनाबाट १७५ जना श्रमिकलाई सुरक्षित उद्धार गरेको जानकारी दिएको छ । वक्तव्यमा मारिने २७ जना एउटै ठेकेदारका लागि काम गर्ने उल्लेख छ । 

सरकारी अधिकारीहरूले घटनाको जाँच भइरहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार दक्षिण अमेरिकाको अरेक्विपा क्षेत्रमा रहेको सो खानीमा सर्ट सर्किटका कारण आगलागी भएको थियो । 

पेरु विश्वको सबैभन्दा धेरै सुन उत्पादक देशहरू मध्येमा पर्दछ ।