पाकिस्तानमा शक्तिशाली बम विष्फोट हुँदा ४४ जनाको मृत्यु

न्युजलय १५ साउन २०८०, सोमबार ०७:०७ मा प्रकाशित

 काठमाडौ‌  ।  पाकिस्तानमा एक धार्मिक र्‍यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। एक सय जना घाइते भएका छन्।

अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम(फजलका कार्यकर्ताहरूको आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो। 

विष्फोटमा परी हालसम्म ४४ जनाको ज्यान गएको र १ सय भन्दाबढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।  

बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लाम–फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ। 

बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएकालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन्। गम्भीर घाइतेहरूलाई हेलीकोप्टरमार्फत् पेशावर लगिएको छ।