जन्मदिनको पार्टीमा गोलि चल्दा चार जनाको मृत्यु, २८ जना घाइते

न्युजलय ४ बैशाख २०८०, सोमबार ०६:५४ मा प्रकाशित

अलाबामा । अमेरिकाको अलाबामा राज्यमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति स्थानीय समयअनुसार १०ः३० बजे डेडेभिल सहरमा एउटा जन्मदिनको पार्टीमा गोली चलेको थियो । 

अलाबामाका गभर्नर केभ आइभीले यसबारे ट्विटरमा लेखेका छन्, ‘आज बिहान, म डेडेभिलका जनता र अलाबामाका मेरा सहकर्मीहरूसँग शोकमा छु। हाम्रो राज्यमा हिंसाको कुनै ठाउँ छैन।’ डेडेभिल पुलिस र हाईस्कूल फुटबल टोलीका लागि धर्मगुरुको रूपमा सेवा गरेका बेन हेसले मारिने अधिकांश किशोर किशोरी रहेको बताए। 

उनले भने, ‘मारिएका युवा हाम्रा स्टार खेलाडीमध्येका एक थिए । उनी धेरै राम्रो मान्छे थिए। मैले यी धेरै विद्यार्थीहरूलाई चिनेको थिएँ। डेडेभिल एउटा सानो सहर हो र यो घटनाले यहाँ सबैलाई असर गर्नेछ।’ लगभग ३२ सय जनसङ्ख्या भएको यो सहर अलाबामा को पूर्वी भागमा तल्लापोसा काउन्टीमा रहेको छ।