जापानमा हिमपातले १७ जनाको मृत्यु

न्युजलय १२ पुस २०७९, मङ्गलबार ०९:१६ मा प्रकाशित

काठमाडौं । जापानमा भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ । लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ।


जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँको जनजीवन अस्तव्यस्त भएको जापानको विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् । 


जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झन्डै एक मिटरसम्म हिमपात भएको छ ।


हिमपातका कारण गाडी सडकमै फसेका छन् भने केही उडान प्रभावित भएका छन् । जापानको मौसम विज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दालाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ ।