काठमाडौँ । भारतको कश्मीरमा पछिल्लो ३ दिन भएको आतंकवादी भिडन्तमा ३ जना सेना र प्रहरी अधिकारीको मृत्यु भएको छ । घटनामा एक सिपाही बेपत्ता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कश्मीरको अनन्तनाग जिल्लाको गडोलमा ३ देखि ४ आतंककारीहरूको उपस्थितिको सूचना पाएपछि, सेना र पुलिसले मंगलबार साँझ संयुक्त अभियान सुरु गरेका थिए ।
१३ सेप्टेम्बर बुधबार बिहान फेरि खोजी सुरु गर्दा, आतंककारीहरूले घना जङ्गलमा आक्रमण गरेका थिए । उनीहरुले अन्धाधुन्ध गोली चलाएका थिए । जसका कारण १९ राष्ट्रिय राइफलका कमाण्डिङ अफिसर कर्नेल मनप्रीत सिंह, मेजर आशिष धौनचक र जम्मु कश्मीर प्रहरीका डीएसपी हुमायुन भाट शहीद भएका थिए ।
लश्कर–ए–तैयबासँग सम्बन्धित प्रतिबन्धित प्रतिरोधी मोर्चाले आक्रमणको जिम्मेवारी लिएको छ । यस घटनालाई कश्मीरमा विगत तीन वर्षमा यो सबैभन्दा ठूलो हमला भएको बताइएको छ ।