केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

न्युजलय १४ बैशाख २०८१, शुक्रबार ०१:४३ मा प्रकाशित

काठमाडौँ । केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको छ। बाढीको स्तर आपत्कालीन अवस्थाबाट विपत्तिको स्तरमा सर्दै गएको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ।

पछिल्लो समयमा अफ्रिकी राष्ट्रमा परेको भारी वर्षाले सामान्य व्यापारमा पनि बाधा पुर्याएको छ। केन्याको राजधानी नैरोबीको माथारे बस्तीमा बुधबार परेको वर्षामा एक जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन्।

यस बस्तीका प्रायः कम आम्दानी गर्ने तथा कमजोर बासस्थानमा बसोबास गर्ने समुदायका बासिन्दाहरू गम्भीर बाढीका कारण घरमै फसेको सिन्ह्वाले रिपोर्ट गरेको छ।

आँधीको पानीले सडकमा बाढी आएको कारण केही क्षेत्रहरू सहरबाट सम्पर्कविहीन नै भएका थिए। राजधानीको दक्षिणमा रहेको किटेङ्गेलाको मुख्य पुल अथी नदीले बगाएपछि हजारौँ व्यापारी तथा कामदारहरू अलपत्र परेका थिए।

सिन्ह्वाका अनुसार मध्य केन्याको किरिन्यागा काउन्टीमा मङ्गलबार थिबा नदीको किनार फुट्दा बाढीले ६० भन्दा बढी परिवार घरबारविहीन भएका छन्।