काठमाण्डौ । इजरायली सेनाले वेस्ट ब्यांकमा गोली चलाउँदा ११ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्।
बुधबार बिहान वेस्ट ब्यांकको नाब्लुस शहरमा प्रवेश गरी इजरायली सेनाले गोली चलाएको र विस्फोट गराएको प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
मृतकमध्ये केही प्यालेस्टिनी लडाकु समूहका सदस्य तथा दुईजना वृद्धसहित अधिकांश सर्वसाधारण रहेको बताइएको छ।
इजरायली सेनाले भने आत्मसमर्पण गर्न नमानेका लडाकु समूहका ३ जना व्यक्तिमाथि गोली चलाइएको दाबी गरेको छ।
इजरायलविरुद्ध काम गरिरहेका सशस्त्र समूहका व्यक्तिको खोजीमा इजरायली सेनाले छापा मार्ने क्रममा कैयौँको ज्यान जाने गरेको छ।
प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासका प्रवक्ताले यस्तो खतरनाक कारबाहीका लागि इजरायल जिम्मेवार हुनुपर्ने र यस्तो कार्यले यस क्षेत्रमा विस्फोट र तनाव बढाउने उनले बताए।