इक्वाडोरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

न्युजलय २५ साउन २०८०, बिहिबार १०:१५ मा प्रकाशित

काठमाडौँ । इक्वाडोरमा राष्ट्रपति चुनावका लागि चलिरहेको चुनावी अभियानमा एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । 

राष्ट्रिय सभाका सदस्य फर्नान्डो विलाविसेन्सियोमाथि बुधवार हमला भएको हो । त्यति बेला उनी उत्तरी सहर क्विटोमा एक चुनावी कार्यक्रमबाट निस्किएर आफ्नो कारमा बसिरहेका थिए । 

उनी कारमा बसे लगत्तै उनीमाथि गोली चल्न थाल्यो । विलाविसेन्सिया कारमा बसेका बेला एक व्यक्ति अगाडि आएर उनको टाउकोमा गोली हानेको बताइएको छ ।  

देशका राष्ट्रपति चुनावको पहिलो चरण २० अगस्टबाट सुरु हुनेछ । राष्ट्रपति लासोले आफू घटनाले स्तब्ध भएको बताए । उनले देशमा सङ्गठित अपराध अत्यधिक बढेको र त्यसलाई नियन्त्रण गर्ने सम्पूर्ण भार उनीमाथि नै पर्ने बताए ।