क्यान्सरका बिरामीलाई निःशुल्क हवाई सेवा दिन एती एयरलाइन्स र विराट मेडिकलबीच सम्झौता

न्युजलय २८ फाल्गुण २०८०, सोमबार ०८:२१ मा प्रकाशित

 विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल(९विराट क्यान्सर इन्स्टिच्यूट) मा उपचारका लागि भर्ना हुने क्यान्सर बिरामीहरुका लागि यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने सम्झौता गरेको छ ।

 यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले विराट मेडिकल कलेजसँग सम्झौता गरेको हो ।

यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले क्यान्सरसँग लडिरहेका बिरामीका लागि उपचारमा आउजाउ गर्न सहज बनाउने उद्देश्यले यो निर्णय लिइएको दावी गरेका छन् । उनका अनुसार निःशुल्क हवाई टिकटमार्फत कोशी प्रदेश मात्रै नभई देशैभरी सुविधा पाइने छ ।

निःशुल्क टिकट लिनका लागि विरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिच्यूटमा सम्पर्क गर्नु पर्ने सम्झौतामा शर्त राखिएको छ । 

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एअरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको विरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एअरलाइन्स जानकारी दिएको छ । नेपालभरिकै क्यान्सर विरामीहरुलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एअरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच फाल्गुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।