काठमाडौँ । बुर्किना फासोमा सन्दिग्ध जिहादीले गरेको चारवटा आक्रमणमा कम्तीमा ३९ सैनिक र ४१ जना स्वयंसेवी लडाकू गरी ८० जनाको मृत्यु भएको सेना र सुरक्षा स्रोतले जनाएको छ ।
मध्य–नोर्ड क्षेत्रमा भएको दुई सबैभन्दा घातक भिडन्तमा दर्जनौंको मृत्यु भएको बताइएको छ ।
सानमातेङ्गा प्रान्तको नोआकामा भएको भिडन्तमा सहायक बल ‘भोलेन्टियर्स फर द डिफेन्स अफ द फादरल्याण्डका ३३ जना सदस्यको मृत्यु भएको सेनाले शुक्रबार जनाएको छ ।
सेनाको एक वक्तव्यअनुसार उक्त झडपमा करिब ५० जना ‘आतङ्ककारी’ पनि मारिएका छन् र ठूलो परिमाणमा सैन्य सामग्री बरामद गरिएको छ ।
त्यही दिन विद्रोहीहरूले महिनौंदेखि घेरिएको जिबो शहरबाट निस्केपछि नाम्सिगियामा सैनिकहरूको सुरक्षामा रहेको खाद्य आपूर्ति गर्ने समूहमाथि एम्बुस आक्रमण गरिएको थियो ।
आक्रमणपछि हराइरहेका एक दर्जन व्यक्तिको खोजी भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
सन् २०१५ मा मालीमा भएको जिहादी विद्रोहसँग जुधिरहेको विश्वकै सबैभन्दा गरिब राष्ट्रमध्येको एक बुर्किनामा अहिलेसम्म १० हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको एक गैरसरकारी संस्थाले जनाएको छ ।