किर्ते कागजमा सय भन्दा बढी नेपाली युवा जापान पुगेको खुलासा, छानविन सुरु

न्युजलय ५ असोज २०८०, शुक्रबार ०७:०५ मा प्रकाशित

काठमाडौं । किर्ते कागजमा सय जना भन्दा बढी नेपाली युवा जापान पुगेको खुलासा भएको छ । जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र संस्थाका अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी प्रशिक्षार्थी कामदारको रुपमा जापान पुगेको खुलेसँगै छानविन सुरु गरिएको छ । 


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरेको खुलेको हा ।


भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि किर्ते गरिएको खुलेको थियो । यससम्बन्धी छानबिन गर्न वैदेशिक रोजगार विभागका प्रशासन शाखा निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई छानबिनका लागि १ महिनाको समय दिइएको छ ।


जानले तीन वर्षभित्रमा परीक्षामा अनुत्तीर्ण भएका २ सय ३५ जना परीक्षार्थी कामदारहरूको सूची विभाग, बोर्ड, अध्यागमन र मेन पावर कम्पनीलाई पठाएको थाहा भएको छ । तीमध्ये कति जापान पुगे भन्ने बारेमा थाहा हुन सकेकोछैन ।


अघिल्लो एक आर्थिक वर्षको असारसम्म जानबाट भाषा परीक्षा उत्र्तीण गरी ६ सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान गएका छन् । उनीहरूलाई जापान पठाउने मेनपावर कम्पनीहरूले अहिले ३ लाखदेखि १० लाख रुपियाँसम्म शुल्क लिने गरेका छन् । यद्यपि, सरकारले तोकेको शुल्क भने ५० हजार रुपियाँ मात्र हो ।