इमरान खानलाई पक्राउ गर्न गएको प्रहरी र समर्थकबीच झडप

न्युजलय ३० फाल्गुण २०७९, मङ्गलबार ०७:४५ मा प्रकाशित

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ ।

पक्राउ पूर्जीसहित प्रहरी लाहोरस्थित खान निवास पुगेपछि समर्थक र प्रहरीबीच झडप भएको हो। 

इस्लामावाद प्रहरीका वरिष्ठ अधिकारी सयद सेहजाद नदिम बुखारीका अनुसार खानलाई गिरफ्तार गर्ने प्रहरीको तयारी छ। 

खानको गिरफ्तारीमा समर्थकहरूले अवरोध खडा गरेपछि प्रहरीले दर्जनौँ सेल अश्रु ग्यास प्रहार गरेको छ । भ्रष्टाचार र आतंकवाद सम्बन्धी मुद्दामा उनलाई गिरफ्तार गर्न लागिएको प्रहरीले बताएको छ। खानमाथि  महिला न्यायाधीशलाई धम्की दिएको र राज्यका उपहार बेचेर आर्थिक अपचलन गरेको अभियोग पनि छ । 

गत अप्रिलमा संसदमा विश्वासको मत नपाएका खानले सत्ताच्युत भएपछि आम चुनावको माग गर्दै आएका थिए ।

यसकै प्रतिशोधका लागि आफूलाई गिरफ्तार गर्न लागेको खानको जिकिर छ। गिरफ्तारको सुईँको पाएपछि खानले आफ्ना समर्थकलाई ट्वीटरमार्फत भिडियो सन्देश दिएका थिए । 

खानले आम चुनावको माग गरे पनि पाकिस्तानी प्रधानमन्त्री सेहबाज शरिफले चुनाव गर्न अस्वीकार गर्दै आएका छन् ।