काठमाडौँ । भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ।
आइतबार मणिपुरको विष्णुपुर र चुराचान्दपुर जिल्लाको सिमानामा हिंसा भड्किँदा चार जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।
मारिनेमध्य तीन जना मैतेई समुदायका रहेको बताइएको छ। आदीवासी संस्था इन्डिजेनस ट्राइबल लिडर्स फोरमले पनि एक सूचना जारी गरी आइतबारको हिंसामा कुकी समुदायको एक व्यक्तिको हत्या भएको दाबी गरेको छ।
विष्णुपुर जिल्ला प्रहरीका अनुसार मध्यराति हतियारधारी समूहले मैतेई गाउँको खुजुमा ताबझ नजिकै त्यहाँका गाउँलेहरूले बनाएका बंकरमा आक्रमण गरेका थिए। सोही आक्रमणमा तीन जनाको मृत्यु भएको दाबी गरिएको छ।
हिंसा सुरू भएपछि गाउँवासीले आफ्नो सुरक्षाका लागि बंकर बनाएका थिए। प्रहरीले आक्रमणकारी पहाडबाट आएको हुनसक्ने अनुमान गरेको छ।