लिबियामा बाढीः मृतकको संख्या ५ हजार नाघ्यो, १० हजार बेपत्ता

न्युजलय २८ भदौ २०८०, बिहिबार ०१:३५ मा प्रकाशित

एजेन्सी । लिबियामा आएको बाढीमा ५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सले लिबियाको डेर्नास्थित भूमध्यसागरीय सहरमा आइतबार राति आएको बाढीमा ५ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ।

समुद्रमा आएको शक्तिशाली आँधीपछि बाँध फुटाउँदै नदीको पानी सहरमा पसेको थियो। उक्त बाढीका कारण मृत्यु भएका ३ हजार १९० जनाको अन्त्यष्टी गरिएको छ। तीमध्ये कम्तिमा ४०० जना विदेशी रहेको अलजजीराले जनाएको छ। ती अधिकां‌श सुडान र इजीप्टका नागरिक हुन्।

बाढीमा परी हजारौँ मानिस बेपत्ता रहेकोमा उनीहरूको खोजी कार्य जारी छ।

हालसम्म बेपत्ताको आधिकारिक संख्या १० हजार रहेको लिबियास्थित अमेरिकी सहायता एजेन्सी मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयले जनाएको छ।

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। लिबियाको आन्तरिक मन्त्रालयका  प्रवक्ता लेफ्टिनेन्ट तारेक अलखरराज बाढीको पुर्‍याएको क्षतिका आधारमा मृतकको संख्या १८ हजारदेखि २० हजारसम्म पुग्नसक्ने बताएका छन्।