नैनीतालमा जीप दुर्घटना, सात जना नेपालीको मृत्यु

न्युजलय २७ चैत २०८०, मङ्गलबार ११:४३ मा प्रकाशित

काठमाडौँ ।  भारतको नैनितालमा जीप दुर्घटना हुँदा सात जना नेपालीको निधन भएको छ ।

भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार उक्त दुर्घटनामा एक जना भारतीय नागरिकको समेत निधन भएको छ ।

उत्तराखण्डको नैनीतालको बेतालघाट ब्लकको उँचाकोटको मल्लागाउँमा सोमवार मध्यराति एउटा पिकअप वाहन सडकबाट तल खाल्डोमा खसेर दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै निधन भएको हो । तीन जना मानिसहरु गम्भिर घाइने भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउन अधिकांश नेपाली नागरिक भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

बेतालघाटका थानाध्यक्ष अनिश अहमदका अनुसार अबेर राति उँचाकोटको मल्लागाउँबाट १० जना मजदूर काम सकिएपछि हल्द्वानीतर्फ गैरहेका थिए ।

त्यही क्रममा उनीहरु सवार पिकअप भ्यान अनियन्त्रित भएर दुई सय फिट भन्दा बढी गहिरो खाल्डोमा झरेको थियो । जसमा आठ जनाको घटनास्थलमै निधन भएको हो ।