भारतको एक होटलमा रुसी नेताको मृत्यु

न्युजलय १२ पुस २०७९, मङ्गलबार ०४:०१ मा प्रकाशित

काठमाडौं । भारतको उडिसामा रहेको एक होटलमा गत शनिबार रुसी नेता पावेल एन्टवको मृत्यु भएको छ । 

 

एन्टव आफ्ना केही साथीहरूका साथ भारतमा आराम गर्न आएका थिए । 

 

उनले युक्रेनमाथि रुसी आक्रमणको आलोचना केही महिनाअघि गरेका थिए । तर उनले पछि बयान फिर्ता लिएका थिए । उनको यस बयानकै कारण उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचक मानिएको थियो । 


उडिसाको रायगडा जिल्लाको एक होटलमा रहेका एन्टवको शव होटल बाहिर फेला परेको थियो । त्यसको दुई दिनअघि त्यही होटलमा उनका साथी भ्लादिमिर बिदेनोभको मृत्यु भएको थियो । 

 

प्रहरी अधिकारीले रुसी नेता एन्टवले सम्भवतः आत्महत्या गरेको बताए । आफ्ना मित्रको मृत्युका कारण उनी निकै चिन्तित थिए । 


तर प्रहरीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । दुर्घटनावश उनी होटलको छतबाट खसेर मरेको हुन सक्ने अनुमान समेत लगाइएको छ ।