काठमाडौँ । मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै एक डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिकले जनाएको छ ।
रेडियोका अनुसार दुर्घटनामा ९१ जनाको मृत्यु भएको, ३० जना बेपत्ता रहेका र पाँच जनालाई जीवितै उद्धार गरिएको छ । दुर्घटनामा बालबालिका र महिलासमेतको मृत्यु भएको बताइएको छ ।
मोसुरिल जिल्लाबाट हिँडेको जहाजले १३० यात्रु बोकेको नाम्पुला प्रान्तका एक मन्त्रीले जानकारी गराए।
दुर्घटनामा परी बेपत्ता व्यक्तिहरूको खोजी जारी राख्दै दुर्घटनाको अनुसन्धान गर्न अधिकारीहरूले बहुक्षेत्रीय टोली गठन गरेका छन् ।