काठमाडौं । चीनको प्रधानमन्त्रीमा ली चियाङ निर्वाचित भएका छन् । चिनियाँ राष्ट्रपति सी जिन्पिङले नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित चियाङलाई त्यहाँको संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको बीबीसीले जनाएको छ ।
चियाङको पक्षमा नेशनल पिपुल्स कङ्ग्रेसका दुई हजार ९ सय ३६ जना र विपक्षमा तीन जनाले मत दिएका छन् । आठ जना अनुपस्थित थिए । ६३ वर्षका चियाङले अब प्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेर भोलिदेखि सरकारको नेतृत्व गर्नेछन् । ली अब चीनको राजनीतिक प्रणालीमा दोस्रो उच्च दर्जाका अधिकारी हुनेछन् । उनी यसअघि चीनको आर्थिक राजधानी भनिने सांघाइको प्रमुख थिए ।
व्यवहारवादी नेताका रूपमा परिचित चियाङ राष्ट्रपति सीका नजिकका सहयोगीका रुपमा चिनिन्छन् । सी हिजो तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि प्रधानमन्त्रीका रूपमा लीको नियुक्ति भएको हो । ६९ वर्षका सी चीनमा कैयौँ पुस्तापछि सबैभन्दा प्रभावशाली नेता बनेका छन् । शून्य कोभिड नीतिबाट चीन खुला हुँदै गर्दा उनले आफ्नो शासनलाई मजबुत पारेका हुन् ।
माओत्सेतुङपछि चीनमा नेताहरू दुई कार्यकाल भन्दा बढी एउटै पदमा रहन नपाउने व्यवस्था राखिएको थियो । तर सीले त्यो व्यवस्थालाई परिवर्तन गरेपछि राष्ट्रपतिमा तेस्रो कार्यकाल शुरु गरेका हुन् । उनले प्रधानमन्त्री, सभामुख लगायतका पदमा पनि निकट सहयोगीहरुलाई राखेका छन् ।