काठमाडौं । प्रतिघण्टा १३० किलोमिटरसम्म गती भएको ‘मोका’ चक्रवात आउने भन्दै भारतीय मौसम विभागले केही दिन अगाडि चेतावनी जारी गरेको थियो । बंगालको खाडी माथि बनेको चक्रवात शक्तिशाली आँधीमा परिवर्तन हुन सक्ने विभागको चेतावनी थियो ।
मोका चक्रवात बंगलादेश र म्यानमारको तटतर्फ अगाडि बढ्ने बताइएको थियो । पश्चिम बंगाल, उडिसा र आन्द्र प्रदेशमा सचेत रहन विभागले अलर्ट जारी गरेको थियो । विभागले समुद्री जहाज र माछा मार्नेहरूलाई मंगलबारदेखि बाहिर ननिस्कन आग्रह गरेको थियो । यससँगै मे ८ देखि १२ सम्म अण्डमान र निकोबार टापुहरू नजिकैको पर्यटन र ढुवानीलाई सीमित गर्न निगरानी गर्न पनि विभागले सम्बन्धित पक्षलाई भनेको थियो ।
यसको प्रत्यक्ष असर भने नेपालमा नदेखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर, अप्रत्यक्ष असर भने देखिएको मौसमविद् गोविन्दकुमार झा बताउँछन् । मोकाकै कारण देशका केही भागमा बादल देखिएको छ ।