हङकङमा १८ वर्षपछि खुल्यो नेपालीका लागि भिसा

न्युजलय १० कार्तिक २०८०, शुक्रबार ०७:५० मा प्रकाशित

काठमाडौं । हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ ।


सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो । अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ । 


चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन् ।


एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका छन् । 


जोन लीले नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा उल्लेख गरेका छन् । 


यो नयाँ नीतिसँगै अब नेपाली इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदार लगायतका प्रतिभाहरूले हङकङमा सहजै रोजगार भिसा पाउने छन्। साथै नेपालीले जुनसुकै क्षेत्रको तालिमका लागि पनि अब हङकङको भिसा पाउने छन् ।