लिबियामा डुङ्गा डुब्यो, ६१ आप्रवासीको मृत्यु भएको आशङ्का

न्युजलय ३१ मङ्सिर २०८०, आइतबार ०१:४८ मा प्रकाशित

काठमाडौं । लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठनले बताएको छ । 

जीवितहरूलाई उद्धृत गर्दै नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी मुलुकहरूबाट महिला र बालबालिकासहित करिब ८६ आप्रवासी उक्त डुङ्गामा सवार रहेको आइओएमले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘२५ जनाको उद्धार गरी लिबियाको हिरासत केन्द्रमा सारिएको छ,’ आईओएमले भनेको छ । जीवित सबैको अवस्था राम्रो रहेको र उनीहरूलाई आइओएमका कर्मचारीबाट चिकित्सा सहयोग प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

इटाली हुँदै युरोप पुग्ने अपेक्षामा सामुद्रिक यात्राको जोखिम उठाउने आप्रवासीहरूका लागि लिबिया र ट्युनिसिया प्रमुख प्रस्थान विन्दु हुन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी आईओएमका अनुसार यस वर्ष ट्युनिसिया र लिबियाबाट एक लाख ५३ हजारभन्दा धेरै आप्रवासी इटाली पुगेका छन् ।