काठमाडौं । साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप १८१ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । रियादस्थित नेपाली दूतावासले विभिन्न अवधिमा रियाद र दमामबाट पक्रिया थालिएकामध्ये १८१ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको जनाएको छ।
दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाएका वा नवीकरण नगरेका वा हुरूब लगाएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।
यसैगरी, साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने दूतावासले जनाएको छ ।
केही आवेदकहरूको एक्जिट भिसा लागेको केहि समय भैसकेकाले दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएका हुरूब लागेका व्यक्तिहरूले अनिवार्य रूपमा अबको ७ दिन भित्रै साउदी छोडि सक्न पनि दूतावासले अनुरोध गरेको छ ।
अरूलाई पनि आफ्नो एक्जिट भिसाको म्याद हेर्न र एक्जिट भिसाको म्याद भित्रै साउदी छोड्न दूतावासले भनेको छ । थप जानकारीका लागि दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ ।