भारत र भुटानका व्यवशायीलाई जोड्दै इटहरीमा ट्राभल मार्ट सम्पन्न

न्युजलय १९ चैत २०८२, बिहिबार ०७:०७ मा प्रकाशित

धरान । इटहरीमा तीन दिने इस्टर्न ट्राभल मार्ट सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा छैठौं इस्टर्न ट्राभल मार्ट सम्पन्न भएको हो । 


पहिलो दिन इटहरीस्थित सोल्टी वेस्टेण्ड होटलमा आयोजित उद्घाटन सत्रमा विभिन्न होटल तथा पर्यटकीय गतिविधिका स्टलहरु प्रदर्शन गरिएका थिए । कोशी प्रदेश सरकारले तयार गरेका विभिन्न योजना तथा पर्यटकीय गन्तव्यका जानकारी समेटिएका सामाग्रीहरु वितरण गरिएको थियो । मार्टमा भारत र भुटानबाट समेत अतिथिहरु आएका थिए । कार्यक्रमको सुरुवातमै नेपालसहित तीनै देशका राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । 


उद्घाटनमा प्रमुख अतिथी तथा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले अत्यन्त समृद्ध रहेको यहाँको पर्यटन प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउनुपर्ने बताए । उनले कोशी प्रदेश नेपालको पर्यटनको ‘गेटवे’ बन्ने क्षमता राख्ने उल्लेख गरेका थिए । 


त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मार्ट पूर्वी नेपालको पर्यटन प्रवर्धनका लागि प्रभावकारी मञ्च बन्ने विश्वास व्यक्त गरे । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटनलाई संस्कृति, अर्थतन्त्र र मानिसलाई जोड्ने माध्यमको रूपमा व्याख्या गर्दै पूर्वी नेपाललाई साहसिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको महत्वपूर्ण केन्द्र भएको बताए । 


देशभरका सातै प्रदेशमा ट्राभल मार्ट सुरु गर्न भुमिका खेल्ने नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरलाई पर्यटन क्षेत्रमा महत्ववपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो । 


कार्यक्रममा इटहरीका पर्यटन व्यवशायी देवी गौतम रविनले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने होटल तथा लज व्यवशायी समितिका अध्यक्ष उमेश दाहालले कार्यक्रम सञ्चालन गरेकाथिए ।


कार्यक्रमको दोस्रो दिन बिजनेस टु बिजनेस कार्यक्रम गरिएको थियो भने पर्यटनका विभिन्न विषयमा केही अन्तरक्रियात्मक कार्यक्रमसमेत गरिएको थियो । यस्तै तेस्रो दिन १६ गते कोसी टप्पुको निरीक्षण गर्दै बेलका रिसोर्टमा कार्यक्रम समापन गरिएको थियो । 


नेपाल पर्यटन बोर्डको २८ लाख र इटहरी उपमहानगरपालिकाको ५ लाख सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । अघिल्लो वर्ष ४० लाख बजेट पाएको मार्टले यस पटक जम्मा ३३ लाख मात्र पाएको थियो । 


कोशी प्रदेशमा भारतीय र भुटानी पर्यटक भित्राउनका लागि व्यवशायी लक्षित यस्तो कार्यक्रम ६ वर्षदेखि निरन्तर भइरहेको आयोजकले जानकारी दिएको थियो । अघिल्ला कार्यक्रमहरुकै कारण पुर्वी नेपालमा पर्यटकहरुको आगमन निरन्तर बढिरहेको समेत व्यवशायी नेपाल एसोसिएसज अफ टुर एण्ड ट्राभल्स नाटा कोशी प्रदेशका अध्यक्ष तथा मार्ट संयोजक पूण्यप्रसाद भट्टराईले बताए । उनले मार्टको उद्देश्य सीमा क्षेत्रका पर्यटन व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा ल्याई व्यापार विस्तार गर्नु रहेको बताउँदै कार्यक्रमको प्रभाव पछिसम्म पनि देखिरहने हुँदा महत्वपूर्ण रहेको बताए ।


पर्यटनको विकासमा यस्ता कार्याक्रमहरु कोशेढुंगा साबित हुने सुनसरी होटल व्यवशायी संघका अध्यक्ष तेजबहादुर पुरीले बताए । उनले पर्यटनसँग सम्बन्धित सबै गतिविधिमा सक्रिय संघसंस्थाहरु एकबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।


कोशी पर्यटन वर्ष २०८२ निर्देशक समिति सहसंयोजक भविष श्रेष्ठले कोशी प्रदेश विविध सम्भावनाले युक्त भएको बताउँदै प्रदेशको पर्यटन विकासमा हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।