सिमरा । बाराको निजगढ–७ स्थित गाडी मर्मत गर्ने कारखानामा सोमबार भएको शंकास्पद वस्तु विष्फोटको घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। विष्फोटमा परि गम्भीर घाईते भएका एक भारतीय नागरिकको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा भारत गवाईका ३५ वर्षीय राकेश जयसवाल रहेका बारा प्रहरीले जानकारी दिएको छ। विष्फोटमा परेका उनको खुट्टाको शल्यक्रिया समेत गरिएको थियो।
जयसवालको मृत्यु भएसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि रोहित वर्कशप ग्यारेज संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको थियो। लेथमा फलाम जस्तो देखिने वस्तु काट्ने क्रममा विष्फोट हुँदा मगरको शरीरमा गम्भीर चोट लागेको थियो।
घटनामा अन्य चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घटनालगत्तै फरार भएका कवाडी संचालकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ।