टर्कीमा भूकम्पपछि लुटपाट गर्ने ४८ जना पक्राउ

न्युजलय २९ माघ २०७९, आइतबार ०६:०३ मा प्रकाशित

काठमाडौं । टर्की (टुर्किये)का अधिकारीहरूले भूकम्पपछि लुटपाट तथा ठगी गर्ने ४८ जनालाई पक्राउ गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ । 

विभिन्न आठ वटा प्रान्तमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको एनाडोलु समाचार संस्थाले लेखेको छ । दक्षिणको हाटे प्रान्तमा लुटपाट गर्ने ४२ जनालाई पक्राउ गरिएको छ भने गानियान्टेपमा एकजना पीडितलाई फोनमार्फत ठग्ने ६ जनालाई पक्राउ गरिएको छ । 

गत सोमवार आएको भूकम्पमा परी २८ हजार जनाको ज्यान गएको छ ।  

टुर्कियेका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले दक्षिणपूर्वी टर्कीका १० वटा प्रान्तमा तीन महिनाको संकटकाल घोषणा गरेका छन् । 

संकटकालबाट प्राप्त अधिकारपछि प्रहरीले लुटपाटका अपराधमा संलग्न व्यक्तिहरूलाई थप तीन दिन हिरासतमा राख्न पाउने भएका छन् । यसअघि उनीहरूलाई चार दिनसम्म हिरासतमा राख्न पाइन्थ्यो ।  

लुटपाट गर्नेहरूलाई कारवाही गरिने प्रतिज्ञा एर्दोआनले शनिवार गरेका छन् ।