सुडानमा सेना र अर्धसैनिकबीच लडाइँ, कम्तिमा २५ जनाको मृत्यु

न्युजलय ३ बैशाख २०८०, आइतबार ०९:४३ मा प्रकाशित

काठमाडौं । सुडानमा सशस्त्र समूहको राष्ट्रिय सेनामा समायोजनको विषयलाई लिएर जारी विवादले हिंसाको रुप लिएको छ ।

सेना र अर्धसैन्य बल र्यापिड सपोर्ट फोर्सबीच राजधानी खार्तुममा झडप र गोली हानाहान भएको हो ।

सेना र अर्धसैनिक समूहबीच भएको लडाइँमा कम्तीमा २५ जनाको ज्यान गएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

सुडानी सेना र अर्धसैनिक समूहबीच शनिबार बिहानैदेखि झडप सुरु भएको थियो । भीडन्तका कारण राजधानी खार्तुम तनावग्रस्त भएको छ ।

सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

खार्तुम राज्य सुरक्षा समितिले नागरिकहरूको जीवन सम्पत्ति जोगाउन यो कदम चालेको अन्तारिष्ट्रय सञ्चारमाध्यले जनाएको छ ।

अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले अस्वीकार गरेको छ । सन् २०२१ को अक्टोबरमा कु गरेयता सुडानलाई सेनाले सार्वभौम परिषद् गठन गरी सत्ता सञ्चालन गर्दै आइरहेको छ ।

हाल सेनासँग भिडन्त गरेको आर्ध सैनिक फोर्स परिषद्का उपराष्ट्रपति जनरल मोहम्मद हम्दान दागालो मातहतमा छ भने सेना परिषद्का अध्यक्ष जनरल फतह अल बुर्हान मातहतमा छ ।

अर्ध सैनिकले समायोजन १० वर्ष पछि गर्न चाहे पनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएको छ ।