सुडानमा युद्धविरामका बाबजुद हिंसा, दुई सय जनाको मृत्यु

न्युजलय ६ बैशाख २०८०, बुधबार ०८:५४ मा प्रकाशित

काठमाडौं । सुडानमा सेना र अर्धसैनिक बलबीच युद्धविरामका बाबजुद युद्ध रोकिएको छैन। चार दिनयता जारी युद्ध २४ घण्टाका लागि रोक्न दुईपक्षीय समझदारी भए पनि युद्ध चर्किरहेको छ।

राजधानी खार्तुममा आक्रमण र विस्फोटका घटना जारी छन्। सैन्य मुख्यालय आसपासको आवासीय क्षेत्रमा युद्ध जारी रहेको बीबीसीले जनाएको छ।

मानवीय पक्षलाई ध्यानमा राख्दै मंगलबार २४ घण्टाका लागि युद्धविराम गर्ने सहमति भएको थियो। तर कार्यान्वयन हुन नसकेको हो। युद्धमा २०० जनाले ज्यान गुमाएका छन्।

कतिपय स्थानीय घरभित्रै छिरेका गोली र क्षेप्यास्त्रका कारण अनाहकमा मरिरहेका स्थानीय महिला तारिकलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। यसैबीच, युद्ध चर्किएका क्षेत्रमा सर्वसाधारणले खाद्यान्न र खानेपानीको अभाव खेपिरहेको बताइएको छ।

यता, मानवीय सहायतामा खटिएका कर्मचारीमाथि समेत आक्रमण भएको र उनीहरू दुर्व्यवहारमा परेको संयुक्त राष्ट्रसंघीय सहायता निकाय प्रमुख मार्टिन गिफ्रित्सले बताएका छन्। सुडानको पश्चिमी क्षेत्र डार्फरस्थित राष्ट्रसंघीय मानवीय सहायता कार्यक्रमको कार्यालयमा लुटपाट भएको भन्दै ग्रिफित्सले ट्विट गरेका छन्। 

सुडानका सेना प्रमुख जेन अब्देल फत्तेह अल बुरहान समर्थक सेना र सुडानका उपनेता मोहमेद हमदान डगालो (हेमेदती भनेर चिनिने) नेतृत्वको ‘कुख्यात’ अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच युद्ध चलिरहेको छ।

उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा सन् २०१९ को बृहत् प्रदर्शनपछि ओमार अल बसीर सत्ताच्युत गरी सेनाले सत्ता हत्याएयता अस्थिरता बढेको हो। सेना र अर्धसैनिक दुवै पक्षले आ–आफ्नो नेतृत्वमा सरकार चलाउने अडान लिएसँगै हिंसा चर्किएको छ।