इटहरी । इटहरीस्थित पाँच तारे होटल रमदाले खाद्य स्वच्छता मूल्यांकनमा ९९ अंक पाएको छ । योसँगै होटल खाद्य स्वच्छताको वर्गीकरणमा अति उत्तम श्रेणीमा परेको छ ।
स्थानीय खाद्य स्वच्छता समितिले गरेको अनुगमनका क्रममा होटलले अति उत्तम श्रेणीसँगै तीन तारा चिन्ह पाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले होटललाई प्रमाणपत्र र चिन्ह प्रदान गरेकी थिइन् । प्रमाणपत्र वितरणपछि बोल्दै महानिर्देशक वैद्यले पुर्वको केन्द्रमा पर्ने इटहरीमा रमदा होटल रहेको बताउँदै यो होटलले पुर्वको पर्यटन विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।
होटलका जनरल मेनेजर अभिमन्यु कायस्थले आफूहरुले खाद्य गुणस्तरमा ध्यान दिएको र विभागले त्यसैलाई प्रमाणित गरेकोमा खुसी व्यक्त गरे । उनले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई गुणस्तरीय सेवा दिन आफूहरु प्रतिबद्ध रहेको समेत बताए ।
कार्यक्रममा विभागको विराटनगर, इनरुवा कार्यालयका प्रमुखहरु, इटहरी उपमहानगरपालिकाकी खाद्य प्राविधिक, प्रहरी, होटल व्यवशायीहरु, जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
ग्राण्ड सेन्ट्रल होटल लि. ले सञ्चालनमा ल्याएको होटल रमदाको व्यवस्थापन विश्वकै सबैभन्दा ठूलो चेन होटल कम्पनि विन्ह्यामले गरिरहेको छ । कोशी प्रदेशमा विदेशी चेन होटलले व्यवस्थापन गरेको यो पहिलो होटल हो ।