काठमाण्डौ । टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क पुनः एक पटक विश्वका सर्वाधिक धनी व्यक्तिको शीर्ष स्थानमा परेका छन् ।
मस्कको सम्पत्तिमा पछिल्लो २४ घण्टामा भएको वृद्धिका साथै कुल सम्पत्ति १८७ अर्ब डलर पुगेको छ । हालसम्म शीर्ष स्थानमा बसेका फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको कूल सम्पत्ति सहित दोस्रो स्थानमा झरेका छन् ।
ब्लुमबर्ग बिलियनेर इन्डेक्सका अनुसार एलन मस्कको सम्पत्तिमा २४ घण्टाभित्र ६.९८ अर्ब डलर वृद्धि भएको छ । पछिल्ला केही दिनदेखि मस्कको सम्पत्ति वृद्धि भइरहेको थियो, त्यसैले उनी पुनः शीर्ष स्थानमा पुग्ने सम्भावना प्रबल बन्दै गइरहेको थियो ।
अघिल्लो वर्ष सबैभन्दा बढी सम्पत्ति गुमाउने मामिलामा एलन मस्क शीर्ष स्थानमा थिए भने यस वर्षको सुरुवातपछि नै उनको कम्पनीको सेयरमा आएको वृद्धिका कारण कुल सम्पत्तिमा वृद्धि देखिएको थियो, जुन अहिले पनि जारी छ ।