मलेसियासँग नेपाली महिला क्रिकेट टोली पराजित

न्युजलय १५ जेठ २०८०, सोमबार ०२:२६ मा प्रकाशित

काठमाडौँ । मलेसियाविरुद्ध भइरहेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको खेलमा नेपालको महिला क्रिकेट टोली सोमबार ५ विकेटले पराजित भएको छ । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियासँग पहिलो पटक पराजित भएको हो ।

क्वालालम्पुरस्थित वाईएसडी–यूकेएम ओवलमा मलेसियाले टस जितेपछि ब्याटिङमा आएको नेपाल १६.५ ओभरमा ५० रनमै अलआउट भयो । ज्योति पाण्डेले ११ र सम्झना खड्काले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । डेब्यु गरिरहेकी सम्झनाले २५ बल खेल्दै १ चौका प्रहार गरिन् ।

निक एटिइलाले ३ विकेट लिइन् । प्लेयर अफ द म्याच उनले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चिइन् । एइना हसिम, एइसा फिर्दाउज र माहिराह इस्माइलीले २–२ विकेट लिइन् । एइनाले ३.५ ओभरमा १०, एइसाले २ ओभरमा ९ र माहिराहले ४ ओभरमा ३ रनमात्र खर्चेकी थिइन् ।

मलेसियाले १३.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । वान जुलिया रोस्दीले १३ र एइनाले अविजित १२ रन बनाइन् । नेपालबाट रुविना र सीताले २–२ तथा कविता कुँवरले १ विकेट लिइन् । शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ ।