धादिङ बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या २० पुग्यो

न्युजलय ११ फाल्गुण २०८२, सोमबार ११:०१ मा प्रकाशित

 काठमाडौं । धादिङमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ। प्रहरीका अनुसार १७ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।

पोखराबाट ३४ जना यात्रु बोकेर आइतबार साँझ करिब ७ बजे काठमाडौंतर्फ छुटेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग १ ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा राति १ः३० बजे दुर्घटनामा परेको थियो । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदी किनारमा बस दुर्घटनाग्रस्त भएको थियो ।

बस चालक सुजित नेपालीको अवस्था भने हालसम्म अज्ञात रहेको बताइएको छ। घाइतेहरूलाई काठमाडौंस्थित ट्रमा सेन्टर तथा आसपासका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।