नेप्सेमा ९४ अंकको उछाल

न्युजलय १२ असार २०७९, आइतबार ०९:०८ मा प्रकाशित

काठमाण्डौ । आइतबार(आज ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९४ अंकको सुधार आएको छ । 

कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै उच्च अंकको वृद्धिसँगै बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ ।

यसक्रममा आज कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आज नेप्सेमा २ अर्ब १९ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसक्रममा ६३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । यसअघि २ घन्टा मात्रै कारोबारमा आएको नेप्सेमा गत साताको शुक्रबार १३ अंकले बढेको थियो ।

नेप्सेमा झण्डै १०० अंकको उछाल आएको दिन सबै समूहमा सुधार आएको छ । यसमध्ये जीवन बीमा समूहमा ३६६ अंक, निर्जीवन बीमा समूहमा ३६२ अंकको सुधार आएको छ । यसैगरी, उत्पादनमूलक समूहमा २८४ अंकको र विकास बैंक समूहमा २५७ अंकको सुधार आएको छ । 

यसक्रममा आज २१ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । परिसूचकमा उच्च अंकको वृद्धि देखिँदा झण्डै २ दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । यसैगरी, २९ वटा कम्पनीको सेयरमा ९ प्रतिशतभन्दा धेरैको सुधार आएको नेप्सेले जनाएको छ ।