रामनवमी मनाउन गएका भक्तजन मन्दिरको इनारमा खस्दा ८ जनाको मृत्यु

न्युजलय १६ चैत २०७९, बिहिबार ०६:४८ मा प्रकाशित

नयाँ दिल्ली । भारतमा रामनवमी पर्व मनाउन भेला भएका भक्तजन मन्दिरको इनारमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ । यस्तै, घटनास्थलबाट एक दर्जनभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । 

मध्य शहर इन्दोरमा सिँढीबाट पानीको स्रोतसम्म पुग्ने गरी खनिएको इनारमा उनीहरू फसेका थिए ।    

टेलिभिजन फुटेजमा आपतकालिन कामदारले डोरी र भर्याङको प्रयोग गरेर मध्य प्रदेश राज्यमा इनारमा फसेकाहरूलाई पुर्याएको देखिएको छ । अन्य भिडिओमा भत्किएको भुइँ र भाँचिएको फलामको बार प्रहरीले डोरीको सहायताले सिल गरेको देखिएको छ । 

हिन्दू धर्मावलम्बी भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा आज देशभरका मन्दिरमा भक्तजनको भीड लागेको समय उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो ।