काठमाडौँ । सुडानको ओमडरमान सहरमा हवाई आक्रमण हुँदा कम्तीमा २२ जना मारिएका छन् । यसलाई सुडानको सेना र विद्रोही अर्धसैनिक बलबीच केही सातायताकै सबैभन्दा घातक हमला भनिएको छ ।
राजधानी खार्तमको छिमेकी सहर ओमडरमानस्थित शनिबार आक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमलामा केही मानिस घाइते भए पनि उनीहरूको संख्या यकिन छैन ।
सरकारी सेना र अर्धसैन्य बलबीच लडाइँ जारी रहँदा शुक्रबारको आक्रमणले सहरी क्षेत्रमा थप त्रास फैलाएको बताइएको छ । अर्धसैन्य बल आरएसएफले भने यो आक्रमण सरकारी सेनाले गरेको आरोप लगाउँदै आक्रमणमा ३१ जनाको मृत्यु भएको दाबी गरेको छ ।
बारम्बार गृहयुद्ध सामना गरिरहेको सुडानमा पछिल्लो समय सरकारी सेना र अर्धसैन्य बलका प्रमुखहरू एकआपसमा शक्ति हत्याउनका लागि लडाइँ गरिरहेका छन् ।