समुन्द्री चक्रवातले दक्षिण भारतको जनजीवन अस्तव्यस्त

न्युजलय १९ मङ्सिर २०८०, मङ्गलबार ०१:०५ मा प्रकाशित

नयाँ दिल्ली । गत डिसेम्बर २ मा बङ्गालको खाडीबाट उत्पत्ति भएको मिचोङ्ग नामक शक्तिशाली चक्रवाती तुफानका कारण दक्षिण र उत्तर भारतका धेरै राज्यहरू प्रभावित भएका छन् ।

विशेषगरी तमिलनाडु र पन्डुचेरी चक्रवातका कारण सबैभन्दा बढी प्रभावित भएका स्थानिय समाचार संस्थाहरुले जानकारी दिएका छन् ।

तमिलनाडुको चेन्नईमा भिषण वर्षाका कारण बाढी आएको छ । बाढीले अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । पानी जमेपछि चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्द गरिएको छ ।

चेन्नइमा भीषण वर्षापछि आएको बाढीमा परि पाँच जनाको मृत्यु हुनुका साथै लाखौँको धनमालमा क्षति भएको छ ।

भारतको मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट उत्पत्ति भएको चक्रवात आन्ध्र प्रदेश र तमिलनाडुको तटमा पुगेको छ ।

आँधीको प्रभाव ओडिशा, तमिलनाडु, आन्ध्र प्रदेश, तेलंगाना र पन्डुचेरीमा रहने विभागको भनाई छ ।

आन्ध्र प्रदेश, तमिलनाडु र पन्डुचेरीमा आज मंगलवार तथा तेलंगानामा भोलि बुधवारका रेड अलर्ट जारी गरिएको छ ।

ओडिशामा बुधवारका लागि ओरेन्ज अलर्ट छ । यी राज्यहरूमा एसडीआरएफ र एनडीआरएफ टोलीहरू तैनाथ गरिएको छ । अहिलेसम्म त्यहाँ २०४ रेल र ७० उडान रद्द भएका छन् ।

आँधीका कारण तमिलनाडुको महाबलीपुरम बीचमा समुद्रको सतह करिब ५ फिटले बढेको छ । मिचोङग चक्रवात सन् २०२३ मा बंगालको खाडीमा बन्ने चौथो र हिन्द महासागरमा छैटौं आँधी हो ।

अत्यावश्यक सेवा बाहेक तमिलनाडुमा सोमबार र मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।