सम्झनामा प्रशान्त तामाङ - सङ्गीतभन्दा ठूलो यात्रा

बाबुराम प्रधान २ माघ २०८२, बिहिबार ०६:२८ मा प्रकाशित

केही आवाजहरू केवल कानले मात्र सुन्दैनन्, मनले सुन्छन्। प्रशान्त तामाङको स्वर त्यस्तै एउटा आवाज थियो—जसले गीतभन्दा धेरै भावना गाएको थियो, जितभन्दा ठूलो इतिहास रचेको थियो।


आज सम्झँदा लाग्छ, भारतको सोनी टेलिभिजनबाट प्रसारण हुने इन्डियन आइडल त्यतिखेर साँच्चिकै विशेष बन्यो, जतिखेर दार्जिलिङका साधारण देखिने तर असाधारण प्रतिभा बोकेका युवक प्रशान्त तामाङ मञ्चमा उभिए। जजहरू थिए—उदित नारायण झा, अलिसा चिनोई र जावेद अख्तर। तर वास्तविक निर्णायक थिए विश्वभरि तिर रहेका नेपाली मन।


प्रशान्त तामाङ केवल प्रतियोगी रहेनन्। उनी हामी सबै नेपालीहरूको पहिचान बने। समस्या एउटै थियो—भोटिङ भारतीय दूरसञ्चार माध्यमबाट मात्रै सम्भव थियो। तर त्यही सीमितताले हामीलाई हार मान्न सिकाएन, बरु झनै सङ्गठित र सिर्जनशील बनायो।


सन् २००७को समय इटहरीका जुझारु व्यक्तित्वहरू, समाजसेवी र संगीत साधनाको टिम मिलेर “प्रशान्त तामाङलाई जिताऔँ” भन्ने अभियान सुरु गरियो। सुरुमा यो इटहरीमै सीमित थियो, तर बिस्तारै इनरुवा, धरान र विराटनगरसम्म फैलियो। यस अभियानका अगुवा मध्ये म पनि एक थिएँ।हामीहरू विद्यालय, संघसंस्था धाउँदै रकम सङ्कलन गर्थ्यौँ। पछि त इटहरीको अन्डरग्राउन्ड ड्राइभिङ सेन्टरअगाडि सिरिसको रुखमुनि टाँगिएको एउटा सानो ब्यानर नै हाम्रो अभियानको केन्द्र बन्यो—“प्रशान्त तामाङलाई जिताऔँ।


सुरुमा जम्मा भएको रकम लिएर भारतको जोगबनी, पूर्वीनाका  काँकरभिट्टा हुँदै सिलगढीसम्म पुगेर भोट हाल्ने योजना बनाइयो। तर जब डेढ–दुई लाख रुपैयाँ जम्मा भयो, त्यहाँ बसेर भोटिङ गराउनु झनै चुनौतीपूर्ण बन्यो। अन्ततः विनय प्रधान दाइ दार्जिलिङ पुग्नुहुन्थ्यो र प्रशान्त तामाङकी आमा र दिदीलाई त्यो रकम हस्तान्तरण गर्नुहुन्थ्यो।


प्रशान्त “टप थ्री” मा पुगेपछि त म स्वयं दार्जिलिङकै बसेर चौरस्तामा बसेर रिचार्ज कार्ड बाँड्दै मानिसहरूलाई भोट गर्न आग्रह गरेँ। त्यहाँका स्थानीय बासिन्दाले हामीलाई खाना र बसोबासको व्यवस्था गरिदिनु भयो।त्यो पनि नेपाली एकताको अर्को सुन्दर उदाहरण थियो।


पछि गायक,नायक बाबु बोगटी, निर्देशक राजेश घतानी, निल डेविडलगायत थुप्रै सर्जकहरू, व्यक्तित्व जोडिएपछि अभियानले झनै गति लियो। प्रशान्त तामाङको उत्कृष्ट गायकी र सारा नेपालीभाषीको जोड बलले  अन्ततः प्रशान्त तामाङ इन्डियन आइडल सिजन–३ का विजेता बने। त्यो जित केवल एउटा ट्रफी थिएन, त्यो नेपाली पहिचानको उत्सव थियो।

आज पनि सम्झँदा त्यो समयको उत्साहले शरीरभरि रोमाञ्च फैलिन्छ। हामीले देख्यौँ—साधन सीमित भए पनि सपना असीमित हुन्छन्।


तर जीवनले कहिलेकाहीँ अत्यन्तै कठोर मोड लिन्छ। गएको पुस २७ गते, गायक तथा अभिनेता प्रशान्त तामाङ ४३ वर्षको उमेरमा दिल्लीस्थित आफ्नै अपार्टमेन्टमा हृदयघातबाट हामीबाट टाढा हुन पुगे। त्यो खबरले सारा नेपालीको मनहरू स्तब्ध बने। जसको स्वरले हामीलाई एक बनायो, आज उही स्वरको मौनताले हामीलाई रुवायो।

तर सत्य के हो भने—प्रशान्त तामाङ आज केवल सम्झनामा सीमित छैनन्। उनी इतिहास बनेका छन्। दूरी, प्रविधि र सीमालाई चिर्दै नेपालीहरूले देखाएको त्यो अभियान हाम्रो सामूहिक चेतनाको एउटा प्रेरणादायी अध्याय बनेको छ।

आज पनि जब उनको नाम लिइन्छ, मनभित्र एउटा भावना जाग्छ—“विश्वभर छरिए पनि, नेपाली भाषीहरू एक हौँ।”

प्रशान्त तामाङ सधैं सम्झनामा रहनेछन्।

स्वरले होइन, संघर्षले अमर बनेका कलाकारका रूपमा।

उनको सम्झनामा नमन।

प्रशान्त तामाङ अमर रहून्।