युनिलिभरका शेयरधनीलाई एक कित्ता बराबर एक हजार २१५ रुपैयाँ नगद

न्युजलय २३ मङ्सिर २०७९, शुक्रबार ०५:५९ मा प्रकाशित

काठमाडौं । युनिलिभर नेपालले आफ्ना शेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ । युनिलिभरका शेयरधनीले एक कित्ता बराबर एकहजार २१५ रुपैयाँ दरले नगद लाभांश पाउनेछन् ।

उक्त लाभांशको प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ । कम्पनीले नगद लाभांश र साधारणसभा प्रयोजनका लागि मंसिर ४ गते बुक क्लोज गरेको थियो । 

यस आधारमा मंसिर ३ गतेसम्म कायम रहेका शेयरधनीहरुले यो लाभांश रकम पाउनेछन् । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ६५० रुपैयाँमात्र नगद दिएको थियो । अहिले झण्डै दोब्बर लाभांश दिने भएको छ ।