इजरायल । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपाली युवा विपिन जोशी हमासको नियन्त्रणमा रहेको जनाएको छ । ७ अक्टोबरमा हमासका सेना इजरायलमा छिर्दा बन्धक बनाई गजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको छ।
दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको जानकारी दिएको छ।
हमासले उनलाई अस्पतालमा भर्ना गराउँदै गरेको भिडियोसमेत सार्वजनिक भएको छ ।
इजरायलमा २० असोजमा हमास समूहले गरेको हिंसात्मक हमलापछि रहेका १७ जनामध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका जोशीलाई आक्रमणकारीहरूले लिएर गएको जानकारी स्वदेश फर्केका विद्यार्थीले दिएका थिए ।
हमास समूहले गरेको ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । मृतकहरूको शव स्वदेश ल्याएर अन्तिम संस्कार सम्पन्न भइसकेको छ ।
आक्रमणमा परेर घाइते भएका सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको बयान दिँदै आएका थिए । उनीहरूका अनुसार हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो । त्यसपछि उनीहरूले जोशीलाई लिएर गएका थिए ।