काठमाडौँ । मणिपुरको कुकी–जोमी बाहुल्य चुराचान्दपुर र मैतेई बहुल विष्णुपुर जिल्लाको सिमानामा मङ्गलवार फेरि दोहोरो फायरिङमा दुई जनाको मृत्यु भएको छ ।
यी सिमाना जिल्लाको खोइरेन्टेक क्षेत्रमा गोली हानाहान भएको हो जसका कारण अरू धेरै मानिस पनि घाइते भएका छन् ।
गोलीबारीको घटना भएको दिन मङ्गलवार मणिपुर विधानसभाको एक दिने अधिवेशन बोलाइएको थियो । केही मिनेटपछि नै बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
प्रहरीका अनुसार बिहान साढे ६ बजेबाट सुरु भएको गोलीकारी राति अबेरसम्म जारी रह्यो । घटनामा ज्यान गुमाएका मध्ये एकको पहिचान जांगमिनलुन गंगटेको रूपमा गरिएको छ । गंगटे गाउँका सुरक्षा गार्ड थिए ।
मणिपुरमा ३ मे देखि सुरु भएको जातीय हिंसापछि चुराचान्दपुर–विष्णुपुर सीमामा लगातार झडप र हिंसा देखिएको छ ।