कोरोना महामारीको स्वास्थ्य आपत‍्काल अन्त्य भएको घोषणा

न्युजलय २३ बैशाख २०८०, शनिवार ०५:५९ मा प्रकाशित

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९)को महामारीको स्वास्थ्य आपत्काल अन्त्य भएको घोषणा गरेको छ। कोभिड–१९ को विश्वव्यापी महामारी घोषणा गरेको तीन वर्षपछि डब्लूएचओले महामारी अन्त्यको औपचारिक घोषणा गरेको हो।

कोभिडको भाइरस संक्रमणका कारण हुने मृत्युदर सन् २०२१ को तुलनामा हाल घटेको अधिकारीहरूले जनाएका छन्। सन् २०२१ को जनवरीमा सातामा १ लाख रहेको मृत्युदर गत अप्रिल २४ सम्ममा साताको ३५ सयमा झरेको बताइएको छ।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रिएससले महामारीका कारण हालसम्म करिब ७० लाख मानिसले ज्यान गुमाएको बताए। यद्यपि, संक्रमणका कारण मृत्यु हुनेको वास्तविक संख्या भने झन्डै २ करोड हुनसक्ने बताएको बीबीसीले जनाएको छ।